काठमाडौं, कात्तिक २ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला पुराना भनिएका राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत र पुनःस्थापनामा खटिएको तर नयाँ भनिएका दलको सक्रियता सामाजिक सञ्जालमा बढी देखिएको टिप्पणी गर्नुभएको छ।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले उद्धार, राहत र व्यवस्थापनमा काम गरेको उल्लेख गर्दै उहाँले नयाँ भनिएका दलको भूमिकामाथि प्रश्न उठाउनुभयो ।
“अस्ति महाविपत्ति आउँदा पुराना दलका नेता–कार्यकर्ताहरू फिल्डमा खट्यौँ, हामी भूगोलमा खट्यौँ, नयाँ भनाउँदाहरू सबै गुगलमा रमाए,” उहाँले भन्नुभयो । एमालेका भ्रातृ संगठन युवा संघ, युथ भोलेन्टियर, जिफन्टलगायतका संगठन तथा अन्य राजनीतिक दलका कार्यकर्ता उद्धार र राहतमा खटिएको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री थापा मगरले विपद्का बेला प्रभावित क्षेत्रमा प्रत्यक्ष उपस्थित भएर काम गर्नु र सामाजिक सञ्जालमा सक्रिय हुनु फरक विषय भएको बताउनुभयो । “खोइ नयाँ भनाउँदा पार्टी कहाँ देखियो त ? उही सामाजिक सञ्जालबाहेक कहीँ देखियो र ? देखिएन नि त,” उहाँले टिप्पणी गर्नुभयो ।
उहाँले भोटेकोशी बाढीपछि रसुवामा वैकल्पिक मार्ग निर्माण, आवागमन सहज बनाउने, स्वास्थ्य सेवा सञ्चालन तथा प्रभावित परिवारको व्यवस्थापनमा आफू प्रत्यक्ष खटिएको दाबी गर्नुभयो । भदौ ११ गते आफू रसुवा नपुगेको भए वैकल्पिक मार्ग निर्माण र तुइन जडानको काममा ढिलाइ हुने उहाँको भनाइ थियो ।
“त्यहाँ हामीले डब्लुएचओको सहयोगमा नुवाकोटमा अर्को अस्पताल सञ्चालन गरेका छौँ । भदौ १० गतेपछि प्रभावित क्षेत्रमा यस्ता धेरै काम गरेका छौँ,” उहाँले भन्नुभयो ।
मुख्यमन्त्री थापा मगरले प्रभावित क्षेत्रमा भएका कामको पर्याप्त प्रचारप्रसार हुन नसकेको पनि बताउनुभयो । कामभन्दा प्रचारमा बढी ध्यान दिने प्रवृत्तिका कारण सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सक्रिय व्यक्तिहरूको चर्चा बढी हुने गरेको उहाँको टिप्पणी थियो ।
रसुवाको भोटेकोशीमा बाढी आएपछि मुख्यमन्त्री थापा मगर मन्त्री तथा प्राविधिक टोलीसहित प्रभावित क्षेत्रमा पुग्नुभएको थियो । बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा जनधनको क्षति हुनुका साथै सडक तथा पुल क्षतिग्रस्त हुँदा आवागमन र सम्पर्क प्रभावित भएको थियो ।
प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन वैकल्पिक मार्ग निर्माण, तुइन तथा झोलुङ्गे पुल मर्मत, बिरामीको उपचार, विस्थापित परिवारका लागि खानपान र अस्थायी बसोबासको व्यवस्थापनमा आफू सक्रिय रहेको उहाँले बताउनुभयो । आवागमन सहज भएपछि मात्रै आफू काठमाडौं फर्किएको उहाँको भनाइ छ ।
बाढी प्रभावित क्षेत्रमा नेकपा एमालेका भ्रातृ संगठन अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, जिफन्ट र अखिल नेपाल महिला संघलगायतका संगठन उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका थिए । जिफन्टले केही प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको थियो । नेकपाको युवा संगठन वाइसीएलका कार्यकर्ता तथा अन्य राजनीतिक दलका प्रतिनिधि पनि राहत र उद्धारमा संलग्न भएका थिए ।
मुख्यमन्त्री थापा मगरले विपद्का बेला राजनीतिक दलको सक्रियता सामाजिक सञ्जालमा गरिने प्रचारभन्दा प्रभावित क्षेत्रमा पुगेर गरिने कामबाट देखिने बताउनुभएको छ ।






