मकवानपुर । हेटौंडा जेसीजको वर्ष २०२४ को नयाँ कार्यसमितिको लागि अमृत बर्तौला नेतृत्वको प्यानल घोषणा गरिएको छ । बर्तमान कार्यकारीणी उपाध्यक्ष रहेका अमृत बर्तौलाको नेतृत्वमा आगामी निर्वाचनको लागि प्यानल घोषणा गरिएको हो ।
२०१७ मा जेसीजको सदस्यता लिएका बर्तौलाले वुधबार (आज) पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरे । उनको प्यानलबाट कार्यकारिणी उपाध्यक्षमा विवेकानन्द न्यौपाने र जीवन ढकाल, उपाध्यक्षहरुमा सुमन ढकाल,रमेश पराजुली, रमेश काफ्ले, विश्वास पराजुली र आतेश दाहालले उम्मेद्वारी घोषणा गरेका छन् ।
पत्रकार सम्मेलन मार्फत् बर्तौलाले आफनो विभिन्न योजनाहरु सार्वजनिक गरेका छन् । उनले आफु निर्वाचित भएपछि हेटौंडा जेसीजलाई थप प्रभावकारी बनाउने दाबी गरेका छन् । ‘४० वर्ष नाघेका जेसीजका पूर्व सदस्यहरुलाइ आजीवन सदस्यता दिन मिल्ने विधान अन्र्तगत सदस्यता दिन पहल गर्नेछौ ।’ बर्ताेलाले भने । त्यस्तै जेसीज सप्ताह जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनेछौ, जेसीज हेटौंडाको प्रयोगविहीन भवनलाई मर्मत गरी जेसीजका हरेक कार्यक्रम भवनमानै सञ्चालन गर्नेछौ, उत्कृष्ट उत्प्रेणा तालिम सञ्चालन गर्नेछौ ,उद्यमी पाठशाला तालिमको कार्यक्रमलाई निरन्तरता दिनेछौ ।’उनले भने ।
त्यस्तै वर्षभरीमा कम्तीमा तीनपटक पूर्व अध्यक्षहरुसँगको भेला र सरसल्लाह जस्ता कार्यक्रमहरुलाई अघि बढाईने बर्ताेलाले बताए । बालबच्चा र वृद्धवृद्धाहरुका लागि पुस्तकालय निर्माण र नेपाल जेसिजको राष्ट्रिय कार्यक्रम शाखामा गर्ने जस्ता लक्ष्यहरु लिएको बर्ताैलाले बताए ।
हाल हेटौंडा जेसीजमा १ सय ७६ सदस्यहरु रहेका छन् ।







