मकवानपुरकाे मनहरी गाउँपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रणमा सक्रियता देखाएकाे छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममै गुट्खाजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने समावेश गरेपछि नियन्त्रणमा सक्रियता देखाएकाे हाे । नीति तथा कार्यक्रम अनुसार विभिन्न समयमा सूर्तिजन्य पदार्थ विक्री वितरण राेक लगाउने सचेनता कार्यक्रम गर्दै सूचना प्रकाशन गरी विक्रेतालाई जानकारी समेत गराएकाे छ । तर त्यसबाट पनि सुर्तीजन्य पदार्थ विक्री वितरणमा कमी नआएपछी गाउँपालिकाले नियन्त्रणमा सक्रियता देखाएकाे हाे ।
गाउँपालिकाले नगर प्रहरी भर्ना पश्चात सुर्तीजन्य पदार्थ नियिन्त्रण गर्ने समेत निर्णय गरेकाे छ । उक्त निर्णय कार्यन्वयनका लागि गत मंसिरबाट नगर प्रहरी भर्ना गरिएकाे थियाे । गाउँपालिकाले पहिलो चरणमा नगर प्रहरी परिचालन गरि एक सातासम्म गुट्खाजन्य पदार्थ विक्रेतालाई सम्झाउने बुझाउने काम गरेका थिए । तर विक्रेताहरुले गाउँपालिकाकाे सूचनालाई अटेर गरेपछि शुक्रबारदेखि नगर प्रहरीले सुर्तीजन्य पदार्थ विक्री वितरण गर्ने व्यवसायीक स्थलमै पुगेर जफत गरेकाे गाउँपालिका प्रशासन शाखाका शैलेष बास्कोटाले बताए ।
मनहरी गाउँपालिका प्रशासन शाखाका शैलेष बास्कोटा सहित नगर प्रहरी साहायक निरिक्षक थिरनाथ देवकोटाको टोलीले वडा नं ६ र ७ मा अनुगमनका क्रममा करिब ८ प्याकेट सुर्तीजन्य पदार्थ जफत गरेका छन् ।
सम्झाई बुझाई गर्दा पनि अटेर गरेपछि उक्त पदार्थ जफत नै गर्न बाध्य भएको प्रशासन शाखाले जनाएकाे छ । बजार अनुगमनमा ईलाका प्रहरी कार्यालय मनहरी र सुनाचुरीका प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।
सुर्तीजन्य पदार्थ विक्रि वितरणले क्षणिक लाभ देखिए पनि भविष्यमा क्यान्सर जस्ता राेगकाे जोखिम रहेकाेले राेकथामका लागि आगामी दिनमा कठाेर कदम चालिने गाउँपालिकाले जनाएको छ ।







