हेटौंडा/वाग्मती प्रदेश सरकारले प्रदेशसभामा पेस गरेका ७ वटा ऐन जारी गरेको जनाएको छ । प्रदेश सरकार एक वर्ष पुगेको अवसरमा जारी गरेको उपलब्धिमा ७ ऐन जारी भएको उल्लेख गरिएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बुधबार सरकारका उपलब्धि सार्वजनिक गरेका हुन् । एक वर्षमा सरकारले जारी गरेका ऐनमा प्रदेश निजामती सेवा, स्थानीय सेवा (गठबन तथा सञ्चालन) प्रदेश सरकारी कामकाजको भाषा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनलगायत छन् ।
‘अवधिमा वाग्मती प्रदेश सरकारका तर्फबाट निकै नै महत्वपूर्ण उपलब्धिहरु हासिल भएका छन् । प्रदेश सरकारलाई संस्थागत र सुदृढ बनाउनका लागि आवश्यक कानुन तथा नीतिहरू तर्जुमा गरिएको छ,’ मुख्यमन्त्री जम्कट्टेलले भने, ‘प्रदेश सरकारको दोस्रो आवधिक योजना तयारीको कार्य सुरु गरिएको छ। प्रदेश सरकारका मन्त्रालय, निकाय तथा कार्यालयहरु स्थापना गरी सबै जिल्लाबाट सेवा प्रवाह तथा सञ्चालन गर्ने, भौतिक पूर्वाधार र आवश्यक जनशक्तिको प्रबन्ध र कर्मचारी वृत्तिविकासका कार्यमा उल्लेखनीय उपलब्धिहरु हासिल भएका छन् ।’ उनले संघ, अन्तरप्रदेश र यस प्रदेशभित्रका स्थानीय तहहरुसँग सहकार्य र समन्वय गर्ने कुरामा पनि उल्लेखनीय प्रगति भएको दाबी गरेका छन् । प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारकारी कमकाजको भाषाको रुपमा मान्यता दिएको जनाएको छ ।
‘नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता प्रदान गरी प्रदेश सरकारले स्थानीय भाषा संस्कृति संरक्षण र विकासमा महत्वपूर्ण योगदान गरेको छ,’ जम्कट्टेलको भनाइ छ ।







