हेटौंडा/हेटौँडा उपमहानगरपालिका वडा नं. ११ नवलपुर स्थित सहिद स्मारक परिसरमा बुधबार बुद्ध पार्कको उद्घाटन गरिएको छ।
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले पार्कको उद्घाटन गरीएको छ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यो महत्वपूर्ण कार्यक्रम भएको बताए। साथै सहिद सप्ताहका अवसरमा हुने कार्यक्रममा सहभागी हुन आग्रह समेत गरेका छन्।
पार्कमा गौतम बुद्ध जन्मेपछी हिडेको बुद्धको मुर्ति देख्न सकिन्छ । सोही स्थानमा गौतम बुद्धकि माता मायादेवी, ब्रम्हा र इन्द्रको मुर्ति पनि राखीएको छ । समितिले सहिद दिवसलाई सप्ताहब्यापी मनाउने कार्यतालिका अनुसार आज पार्कको उद्घाटन गरिएको सचीव रघुनाथ खुलालले जानकारी दिए ।
सहिद सप्ताह २०८० का अवसरमा भोलि माघ ११ गते कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेलाको शुभारम्भ, विविध सास्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम, माघ १२ गते वडा स्तरिय नृत्य प्रतियोगिता, माघ १३ गते रक्तदान कार्यक्रम र “सहिद र मदन भण्डारीको सपना साकार पार्नका लागि नवयुवाको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगिता, माघ १४ गते वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते राष्ट्रिय कलाकारहरुको सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा अन्तिक दिन माघ १६ गते प्रभातफेरी, सहिद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सचिव खुलालले जानकारी दिए ।








