हेटौँडा/ बागमती प्रदेशको राजधानी हेटौँडा स्थित सहिद स्मारकमा मकवानपुर जिल्लाकै अग्लो झन्डा फहराइएको छ। स्मारक विकास समितिले प्रजातन्त्र दिवसको अवसरमा ६५ फिट अग्लो डण्डीमा २२ फिट लामो साइजको झण्डा फहराएको छ ।
सोमबार राष्ट्रिय कलाकार हरिवंश आचार्यले स्मारक परिसरमा झण्डाको उद्घाटन गरे। उनले प्रदेशको राजधानी हेटौँडाको मुख्य पर्यटकीय स्थल सहिद स्मारकमा प्रजातन्त्र दिवसको अवसरपारेर झण्डोत्तलन गर्न पाउनु खुसीको कुरा भएको बताए। उनले ६५ वर्षको उमेरमा ६५ फिटको झण्डा फहराउन पाउनुलाई ठूलो अवसरका रुपमा लिएको बताए।
कार्यक्रममा स्मारक विकास समितिका अध्यक्ष एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले ३ करोड नेपालीले रुचाएको व्यक्तिबाट ३ करोड नेपालीको राष्ट्रिय झन्डा फहराइएको बताए। पौडेलले स्मारक बागमती प्रदेशको मात्र नभई नेपालकै उत्कृष्ट पार्कका रुपमा विकास हुँदै गएको र यहाँ विदेशबाट समेत पर्यटक आउने गरेको बताए। उनले स्मारक सबैको साझा भएको समेत बताए।
कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेशकी पूर्वराज्यमन्त्री जुनेली श्रेष्ठ, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, हेटौँडा–११ का वडाअध्यक्ष जुना दाहाल, ४ नम्बर वडाअध्यक्ष नवीन सिग्देललगायतको उपस्थिति थियो ।