हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ को आयोजनामा प्रथम वडा स्तरीय बृहत् शैक्षिक महोत्सव २०८० शनिवार बाट सुरु भएको छ।
“बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” र “वडा बासिको एउटै नारा शैक्षिक विकासमा लागौं सारा” भन्ने नारा लिएर आज बाट तीन दिने शैक्षिक महोत्सव सुरु भएको हो।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले आज शैक्षिक मेलाको औपचारिक उद्घाटन गरिन्। वनदेवी आधारभूत विद्यालय फारलाइनमा लगातार तीन दिनसम्म चल्ने यस महोत्सवमा विभिन्न शैक्षिक गतिविधि हुनेछन्।
वडा शिक्षा समितिका अध्यक्ष तथा वडा अध्यक्ष सुनिल मुत्तानले शिक्षाको महत्त्व बुझ्न यस किसिमको कार्यक्रम गर्न लागिएको बताए। उनले ग्रामीण क्षेत्रमा रहेका विद्यार्थीहरूले पढाई छाड्ने प्रचलनलाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमको आवश्यकता रहेको बताए।

यस शैक्षिक महोत्सवमा वडाका ८ वटा सामुदायिक र २ वटा निजी विद्यालयले सहभागिता जनाएका छन्। उद्घाटन कार्यक्रममा मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी, हेटौंडा उपमहानगरपालिकाको वडा अध्यक्षहरु, सघ संस्थाको प्रतिनिधिहरु , राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।







