नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर जिल्ला कमिटीले प्रस्तुत गरेको राजनैतिक तथा सांगठनिक प्रतिवेदनअनुसार मकवानपुर भारतीय पर्यटकको गन्तव्य बन्न सक्ने देखिएको छ।
नेपाल कम्युनिस्ट पार्टी एमाले मकवानपुरका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठद्वारा १२ौं जिल्ला अधिवेशनमा प्रस्तुत राजनैतिक तथा सांगठनिक प्रतिवेदन अनुसार जिल्लाको विविध भौगोलिक र जलवायु अनुसार गर्मी याममा भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावना रहेको बताउनुभएको छ।
यस्तै, पछिल्लो समय मकवानपुरलाई चलचित्र छायाँकनका लागि पनि रोजाइमा परिरहेको उल्लेख गर्नुभएको छ। हेटौंडामा रहेको शहिद स्मारकले पनि स्वदेशी तथा भारतीय पर्यटकलाई आकर्षित गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
मकवानपुरमा विभिन्न धर्म र सम्प्रदायका मानिसहरू बसोबास गरिरहेका छन्। यहाँ बौद्ध तथा हिन्दू धर्मावलम्बीहरू बाहुल्य रहेका छन् भने क्रिश्चियन र इस्लाम धर्मावलम्बीहरूको संख्या न्यून रहेको छ। जिल्लाभित्र उल्लेखनीय संख्यामा धार्मिक मठ मन्दिरहरू समेत रहेका छन्।