नेकपा एमाले मकवानपुरको १२औं जिल्ला अधिवेशन अन्तर्गत आज दिउँसो मतदान हुने भएको छ। नेतृत्वमा आउन चाहनेहरूबीच सर्वसम्मतिको प्रयासका क्रममा केही पदाधिकारीहरूले उम्मेदवारी फिर्ता लिनुभएको छ।
अध्यक्ष पदमा पाँच जनाले उम्मेदवारी दर्ता गराएकोमा एक जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ। रघुनाथ खुलालले अध्यक्षबाट आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ। उहाँले अर्का उम्मेदवार इन्द्रमान स्याङतानलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताउनुभएको छ।
खुलालले भन्नुभयो, “पार्टीले अगाडी सारेको उम्मेदवार इन्द्रमानको पक्षमा समर्थन गर्दै उम्मेदवारी फिर्ता गरेको हुँ, भ्रममा नपर्नुहोला।”
अहिले अध्यक्ष पदमा इन्द्रमान स्याङ्तान, श्रीधर पोखरेल, लालबहादुर थापा र देवराज रिमाल गरी ४ जनाको मात्र उम्मेदवारी रहेको छ।
त्यस्तै सचिवमा सुमित्रा काफ्लेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ। भने,अहिले पनि सचिवमा तीनजना मदन कुमार दाहाल, सीता बिष्ट र राजन थापाको उम्मेदवारी कायमै छ।
जिल्लाका ११ हजार ६ सय ८४ पार्टी सदस्यहरूबाट अधिवेशनका लागि ७७७ जना प्रतिनिधि चयन गरिएको छ। विभिन्न पालिका, क्षेत्र र पार्टीका जनवर्गीय संगठनहरूबाट प्रतिनिधिहरूको सहभागिता रहेको यस अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी निर्माण गर्नेछ।







