मकवानपुरका अग्रज साहित्यकार तुलसी घिमिरे तेस्रो कृतिको रूपमा गजल संग्रह ‘घामका फूलहरू’ लिएर आएका छन्।
उनको गजल संग्रह ‘घामका फूलहरू’ शनिबार एक साहित्यक कार्यक्रमबीच विमोचन गरिएको छ।
गजल मञ्च मकवानपुरको २१५औँ नियमित गजल यात्राका क्रममा घिमिरेको गजल संग्रह विमोचन गरिएको हो। संग्रहको कार्यक्रमका प्रमुख अतिथि मकवानपुरका अग्रज शिक्षा एवं सञ्चारसेवी देव श्रेष्ठ, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, मञ्चका अध्यक्ष केशव समर्पणलगायतले विमोचन गरेका हुन्।
घिमिरेको गजल संग्रहमा ७० वटा गजल संग्रहित छन्। १५ फागुन २०११ मा बर्माको होम्लिनमा जन्मिएका साहित्यकार घिमिरेका यसअघि ‘फूलका कुरा जूनका कुरा’ गीत संग्रह २०७१ र ‘माटोको मोह’ कविता संग्रह २०८० प्रकाशित छन्।
गजल मञ्च मकवानपुरले प्रकाशन गरेको उक्त गजल संग्रहमाथि समीक्षक घनश्याम घिमिरेले समीक्षा गरेका थिए भने साहित्यकारहरू स्वस्तिका दाहाल, सञ्जित श्रेष्ठ र हरि पौड्याललगायतले घिमिरेको संग्रहमा संग्रहीत गजलवाचन गरेका थिए।
समीक्षक घनश्याम घिमिरेले गजल संग्रहमाथि समीक्षा गर्दै घामका फूलहरूमार्फत् गजलकार घिमिरेले आफूले जीवनमा भोगेका र देखेका विविध विषयलाई गजलका माध्यमबाट सचित्र वर्णन गर्न सफल भएको दावी गरे। उनले गजलकार घिमिरेको गजल संग्रहमा सबै उमेर समूहका साहित्य अनुरागीले आफ्नै लागि लेखिएका गजलहरू रहेको अनुभुति गर्नसक्ने रचना समावेश गरेको बताए।
गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको सभाध्यक्षतामा भएको २१५ ओैं गजल यात्राका अवसरमा गजलकारहरू मिथिला अधिकारी, मुस्कान तिमल्सिना, डिबी बर्ताैलालगायतले गजलवाचन गरेका थिए।