हेटौंडा/ शहीद स्मारक विकास समितिले आगामी माघमा सहिद सप्ताह २०८१ को विविध कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ। समितिले जारी गरेको प्रेस विज्ञप्तिमा सहिदहरूप्रति सम्मान र श्रद्धाञ्जलीका विभिन्न कार्यक्रमहरू घोषणा गरेको छ।
समितिका अनुसार, सप्ताह भरिका मुख्य कार्यक्रमहरूमा राष्ट्रिय झण्डोत्तोलन, पत्रकार भेटघाट, स्मारक परिसरको सरसफाई, रक्तदान कार्यक्रम, श्रद्धाञ्जलि सभा, र विभिन्न प्रतियोगिताहरू समावेश छन्।
विशेष गरी माघ १६ गतेको कार्यक्रम अझै महत्वपूर्ण रहनेछ, जसमा वागमती प्रदेश सरकारको समन्वयमा प्रभातफेरी, सहिद प्रति सलामी, पुष्पार्पण र सम्मान कार्यक्रम आयोजना गरिनेछ।
उक्त कार्यक्रममा बागमती प्रदेश प्रमुख दिपक देवकोटाको प्रमुख आतिथ्यतामा सहिद प्रति सलामी (नेपाल प्रहरी, नेपाली सेना), पुष्पार्पण श्रद्धान्जली सभा, सम्मान कार्यक्रम तथा समापन कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल, मुख्यमन्त्री बहादुर सिंह लामा, प्रदेशका मन्त्री, सांसद लगायतको उपस्थिति रहने भएको छ ।
सहिद स्मारक विकास समितिले सहिद शब्दको महत्त्व र सम्मानलाई जोड दिँदै हरेक वर्ष यस्ता कार्यक्रमहरू आयोजना गर्ने गरेको छ।