फागुन ९–१० – नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा हेटौंडामा दोस्रो राष्ट्रिय नवसर्जक उत्सव तथा प्रथम अधिवेशन हुने भएको छ। देशभरका युवायुवती, किशोर-किशोरी तथा हेटौंडा उपमहानगरपालिकाका विद्यालय तहका बालबालिकाको सहभागितामा उत्सव सम्पन्न हुनेछ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उत्सवको उद्देश्यबारे जानकारी दिँदै संस्थाका संस्थापक दीपक गौतमले प्रदेशको साहित्यिक पहिचानलाई नयाँ उचाइमा पुर्याउने, नवसर्जक उत्पादन गर्ने तथा पठन-लेखन संस्कृति प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताए।
उत्सवमा करिब ४ सय नवसर्जक विद्यार्थी, शिक्षक तथा साहित्यकारको उपस्थिति रहने अपेक्षा गरिएको छ। पहिलो दिन, फागुन ९ गते, मुक्तक, गजल, लोक लयका कविता, गद्य कविता, कथा, नाटक, निबन्ध (यात्रा संस्मरण) तथा चित्रकला लेखनजस्ता ८ विधामा सिर्जनात्मक लेखन कार्यशाला सञ्चालन हुनेछ।
दोस्रो दिन, फागुन १० गते, बहस, स्रष्टा सम्मान, राष्ट्रव्यापी गजल प्रतियोगिता तथा रचना वाचन कार्यक्रम हुनेछ। साथै, नवसर्जकहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट तीन गजल सर्जकलाई ७ हजार रुपैयाँ नगद, सातै प्रदेशका सात प्रतिभालाई ७ हजार ७७७ रुपैयाँको सम्मान तथा एक अग्रज बालसाहित्य सर्जक वा अभियन्तालाई १५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
बागमती प्रदेशको राजधानी हेटौंडामा केन्द्रीय कार्यालय रहेको नवसर्जक साहित्य चौतारी नेपालले १ सय ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बालकविता गोष्ठी आयोजना गरिसकेको छ। उत्सव हेटौंडा उपमहानगरपालिका, वडा नम्बर ४ कार्यालय तथा भुटनदेवी माध्यमिक विद्यालयको आर्थिक व्यवस्थापनमा सम्पन्न हुनेछ।
पत्रकार सम्मेलनमा संस्थापक दीपक गौतम, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देल, संस्थाका केन्द्रीय सल्लाहकार तथा पुरस्कार संस्थापक रमेश मोहन अधिकारी, विष्णु न्यौपाने, अर्चना दहाल, उपाध्यक्ष कृतिका लडौरीलगायतको उपस्थिति थियो।
नवसर्जक साहित्य चौतारी नेपालले यसअघि २०७७ जेठ २८ गते पहिलो राष्ट्रिय बाल उत्सवको आयोजना गरेको थियो।