नेपाल मगर सङ्घ कैलाश गाउँ कार्य समितिले नेपाल मगर मजुवा गुठीको व्यवस्थापनमा विहिबार कैलाश ६, मजुवामा विविध मगर सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
नेपाल मगर सङ्घको ४३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँ समितिका अध्यक्ष तुलराज दर्लामी मगरको अध्यक्षता तथा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो।
गाउँपालिका अध्यक्ष मुक्तानले मगर समुदायको भाषा, धर्म, कला, सभ्यता र परम्परालाई जोगाउनु स्थानीय सरकारको दायित्व रहेको बताउँदै वाद्यबाधन सामग्री प्रदान गरिएको जानकारी दिए। उनले मगर भाषा मात्र नभई अन्य जातिहरूका भाषा पनि हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै संरक्षणको आवश्यकतामा जोड दिए। यसै क्रममा गाउँपालिकाले भेषभूषा र वाद्यवादन सामग्री खरिदका लागि तीन लाख रुपैयाँ बजेट स्वीकृत गरेको जानकारी दिए।
उपाध्यक्ष बालकुमार मल्लले मगर बाजा बजाउन बाहिरबाट ल्याउने अवस्थालाई रोक्न गाउँपालिकाले पञ्चेबाजा सामग्रीहरू वितरण गरेको बताए। उनले मगर समुदायको कला र संस्कृति संरक्षणमा समुदायको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै जात, धर्म र परम्परामा कुनै पनि राजनीतिक दलको दबदबा हुनु नहुने धारणा राखे।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष राजेन्द्र घिसिङले आफू तामाङ समुदायको भए पनि मगर समुदायको कला संस्कृति मन पर्ने बताए। उनले मगर समुदायको बिस्तार देशभरि भइसकेको र अहिले मिश्रित रूपमा सबै जातजाति मिलेर बस्ने अवस्था रहेको उल्लेख गरे।
सङ्घका अध्यक्ष तुलराज दर्लामी मगरले मगर समुदायको प्रमुख पर्व माघे सङ्क्रान्ति भए पनि फागुन १५ लाई विशेष रूपमा मनाउने परम्परा रहेको बताए। उनले मगर समुदायको भाषा र लिपि ओझेलमा परेको भन्दै संरक्षणमा सबैको ध्यान जानुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा मगर सङ्घ जिल्ला सदस्य खड्गबहादुर रुचाल मगर, आदिवासी जनजाति महासङ्घ मकवानपुरका सहसचिव तीलकबहादुर आलेमगर, वडा नम्बर ६ का सदस्यहरू शम्भु अर्याल र जीतबहादुर थिङ, मगर सङ्घ गाउँ समितिका सल्लाहकार प्रेमबहादुर रानामगर, नेपाली कांग्रेसका वडा ६ सभापति कृष्णबहादुर मोक्तान, नेकपा माओवादी केन्द्रका पालिका सचिव सुरेश घिमिरे, मगर सङ्घ गाउँ समितिका सचिव केशव थापा मगर, बाजा प्रशिक्षक महेन्द्र नेपाली लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा ॐ नमो बुद्ध मगर नौमति बाजा समूहको प्रस्तुति तथा स्थानीय कलाकारहरूको मगर नृत्य प्रदर्शनी गरिएको थियो। यसै अवसरमा गाउँपालिकाको आर्थिक सहयोगमा उक्त समूहलाई विभिन्न वाद्यवादन सामग्री र पोशाक प्रदान गरिएको थियो। साथै, गाउँपालिकाको आयोजनामा मगर समुदायका युवा पुस्तालाई लक्षित गर्दै एक महिने पञ्चेबाजा तालिम प्रदान गरिएको थियो। तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।







