भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न क्षेत्रका ११ जना व्यक्तित्वलाई सम्मान गर्ने भएको छ। यही फागुन १७ गते एक विशेष साहित्यिक कार्यक्रमका बीच चार वटा राष्ट्रिय पुरस्कार र सात वटा सम्मान प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ तौजलेले जानकारी दिएका छन्।
श्रेष्ठका अनुसार पत्रकार, उद्यमी, संगीतकार, साहित्यकार, स्वास्थ्यकर्मी र विद्यार्थीलाई सम्मान गरिनेछ। भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८१ काठमाडौंकी माया ठकुरीलाई, भीम विराग राष्ट्रिय संगीत पुरस्कार २०८१ रुपन्देहीका गायक हेमन्त शर्मालाई, भीम विराग राष्ट्रिय कला पुरस्कार २०८१ मकवानपुरका कलाकार भोलाराज सापकोटालाई, र भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ काठमाडौंका पत्रकार तथा साहित्यकार ठाकुर बेल्वासेलाई प्रदान गरिनेछ। हरेक पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ।
यसैगरी, प्रतिष्ठानले तुलसीमाया–शिवकुमारी सृजनशील नारी सम्मान (१५ हजार रुपैयाँ) मकवानपुरकी महिला उद्यमी शोभा श्रेष्ठलाई, शिला नारी सम्मान मकवानपुरकी महिला उद्यमी मेनका श्रेष्ठलाई, तथा चिनुकुमारी लामा स्मृति साहित्य सम्मान मकवानपुरका बाल साहित्य अभियानकर्मी दीपक गौतमलाई प्रदान गर्ने भएको छ।
त्यसैगरी, रामकृष्ण बानियाँ स्मृति लोक संगीत सम्मान (२० हजार रुपैयाँ) पर्वतका लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई दिइनेछ। भीम–मथुरा बाल प्रतिभा सम्मान (१० हजार रुपैयाँ) मकवानपुरकी विद्यार्थी रितिका छत्कुली, मंगलादेवी स्मृति स्वास्थ्य सेवा सम्मान मकवानपुरकी स्वास्थ्यकर्मी निर्मला ब्लोन, र अजित सेन–कमलेश्वरी गुप्ता भिन्न क्षमता सम्मान मकवानपुरका दृष्टिविहीन मेकानिक सुदर्शन ढकाललाई प्रदान गरिनेछ।
पुरस्कार वितरण समारोहमा गायक हेमन्त शर्मा र लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्माको विशेष सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रमका लागि टिकट दर एक हजार रुपैयाँ तोकिएको प्रतिष्ठानका महासचिव छवि अनित्यले जानकारी दिएका छन्।