हेटौंडा/कला र संस्कृतिको प्रवर्द्धनबाट समाजमा रहेका विभेद र विकृति हटाउँदै समाजमा चेतना फैलाउन सकिने हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले बताउनुभएको छ।
वडा कार्यालयको आयोजनामा तथा झलझली मल्टिक्रियसन म्युजिक स्टुडियोको व्यवस्थापनमा सुरु भएको “सामाजिक रूपान्तरणका लागि सचेतनामूलक उपमहानगरस्तरीय प्रथम सडक नाटक प्रतियोगिता” को नवोदय शिशु सदन, हेटौंडा-४ मा उद्घाटन गर्दै उहाँले विद्यार्थीलाई विद्यालयबाटै कला र संस्कृतिसँग जोड्न सके दक्ष र उत्कृष्ट कलाकार उत्पादन गर्न सकिनेमा जोड दिनुभयो।

अध्यक्ष सिग्देलले समाजमा विद्यमान विकृति, विसंगति, कुरीति, कुसंस्कार, अन्धविश्वास र मानवीय हिंसा हटाउन पनि कला प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो।
प्रतियोगितामा पहिलो प्रस्तुति ज्ञानोदय बालबाटिका आवासीय मावि, हेटौंडा-५ का समूहले “महिला हिंसा विरुद्ध सचेतनामूलक रक्ताम्मे मेरो शरीर” नामक नाटक प्रस्तुत गरे। त्यस्तै, वडा नं. १८ बाल सञ्जालले “लागू औषध दुर्व्यसन विरुद्ध चेतनामूलक नाटक” मञ्चन गरेका थिए।
१२ वटा समूहको सहभागिता रहेको यो प्रतियोगिता फागुन २३ गतेसम्म सञ्चालन हुने नाट्यकर्मी आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो।
कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा-४ का संयोजक श्रीराम दाहाल, महिला जागरण समूहका अध्यक्ष राधिका चौलागाईं, नवोदय शिशु सदनका निर्देशक दीपेश जोशी, राष्ट्रिय जनसाँस्कृतिक मञ्चका अध्यक्ष राजुराम राउत र सिस्नुपानी नेपालका अजर फुँयालको विशेष उपस्थिति थियो।
प्रतियोगिता बाल सञ्जाल र नवोदय शिशु सदनकी उपाध्यक्ष एनि घलेको अध्यक्षतामा सम्पन्न भएको हो।







