हेटौंडा/नेपाल पुलिस क्लब महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको क्वार्टरफाइनल खेलमा रौतहटको महिला टोलीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट तय गरिएको थियो। टाइब्रेकरमा पुलिसकी गोलकिपर उषा नाथ निर्णायक भूमिकामा रहिन्। उनले रौतहटका मनिषा श्रेष्ठ र अञ्जली चन्दको प्रहार रोकेकी थिइन्। टाइब्रेकरमा रौतहटका लागि सविना चौधरी र सलोनी रानाले मात्र गोल गर्न सफल भए।
पुलिसका लागि उत्कृष्ट प्रदर्शन गरेकी उषा नाथ ‘प्लेयर अफ द म्याच’ घोषित भइन् र उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन्।

यस जितसँगै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ। अब उसले सेमिफाइनलमा चितवनसँग प्रतिस्पर्धा गर्नेछ। चितवनले आयोजक मकवानपुरलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
प्रतियोगिताअन्तर्गत सोमवार एपिएफ र वीरगंज युथ एकेडेमीबीच अर्को क्वार्टरफाइनल खेल हुनेछ। प्रतियोगिताको फाइनल खेल बुधबारका दिन हुनेछ। उपाधि विजेताले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।







