मकवानपुरको कैलाश गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै बाख्रा वितरण गरेको छ। गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाअन्तर्गत सञ्चालित जीविकोपार्जन कार्यक्रमअन्तर्गत १८ घरपरिवारलाई बीउपुँजी स्वरूप माउ बाख्रा वितरण गरिएको हो।
बाख्रा वितरण कार्यक्रम गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै शाखा प्रमुख रमिला सापकोटाले वौद्धिक, मानसिक, शारीरिक तथा बहुअपाङ्गता भएका ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर बाख्रा वितरण गरिएको जानकारी दिइन्।
कार्यक्रम सामाजिक विकास मन्त्रालयको ६० प्रतिशत, गाउँपालिकाको २० प्रतिशत र सुन्दर ढोका साथी सेवा संस्थाको २० प्रतिशत साझेदारीमा सञ्चालित भएको हो।
सुन्दर ढोका साथी सेवा परियोजनाका संयोजक राम कार्कीका अनुसार, कार्यक्रमअन्तर्गत दुई जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ भने दुई जनाले टनेल निर्माण गरेका छन्। साथै, एक जनाले किराना पसल सञ्चालन गरेका छन्।
बाख्रा वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, वडा नं. ३ का कार्यवाहक अध्यक्ष राममाया प्रजा, शाखा प्रमुख सापकोटा लगायतको उपस्थिति रहेको थियो।







