हेटौंडा/ साहित्य संगम मकवानपुरले ३ सय ५५ औं नियमित साहित्य सन्ध्या तथा संगम साहित्य उत्सव–२०८२ को अवसरमा विभिन्न विधामा योगदान पु¥याएका आठ जना स्रष्टालाई सम्मान गर्ने भएको छ।
शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत संगमका सचिव मनोज पोखरेलले आगामी शनिबार (जेठ १० गते) हेटौंडास्थित पार्टी प्यालेसमा हुने कार्यक्रममार्फत सम्मान प्रदान गरिने जानकारी दिनुभयो।
संगमका अनुसार ‘मकवानपुर साहित्य श्री सम्मान २०८१’ बाट राजकुमार लामिछाने सम्मानित हुनेछन्। सो सम्मानको राशी रु. १५,५५५ रहेको छ।
त्यस्तै, ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१’ टीका आत्रेयलाई प्रदान गरिनेछ। यस सम्मानको राशी पनि रु. १५,५५५ रहेको छ।
‘विनोद–सुनिता सुवेदी सम्मान २०८१’ रामकुमार एलनलाई रु. ११,१११ नगद सहित प्रदान गरिनेछ भने ‘दिपक मुडभरी स्मृति सम्मान २०८१’ समिर पाख्रिनलाई रु. १०,००० राशीसहित प्रदान गरिनेछ।
‘मङ्गलादेवी स्मृति सम्मान २०८१’ वबि थापालाई, ‘मुक्तितारा सम्मान २०८१’ यश लामा तथा ‘रामहरि देवु सम्मान २०८१’ मसान उपासकलाई जनही रु. १०,००० नगद सहित प्रदान गरिने जनाइएको छ।
त्यस्तै, ‘साहित्य संगम मकवानपुर कृति सम्मान २०८०/८१’ अन्तर्गत अभय श्रेष्ठलाई रु. २५,००१ राशीसहित सम्मान गरिनेछ।
हेटौंडा उपमहानगरपालिकाको प्रवर्द्धनमा आयोजना हुने यस कार्यक्रम सम्पन्न गर्न करिब रु. २.५ लाख खर्च हुने अनुमान गरिएको छ।
साहित्य संगम मकवानपुरका अध्यक्ष डि.बि. बर्तौलाका अनुसार यस उत्सवको उद्देश्य जिल्लाको कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै नयाँ पुस्तामा सिर्जनशील चेतना विकास गर्नु रहेको छ।
कार्यक्रममा सम्मानित स्रष्टाहरूका रचना वाचनसहित ‘सपना र सम्भावना : सिर्जनामा नयाँ पुस्ता’ र ‘कविता : युगको प्रतिबिम्बन’ विषयमा प्यानल छलफल समेत हुनेछ।







