हेटौंडा/चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्ले, चलचित्र रंग संयोजक रेनिस फागो र सञ्चारकर्मी गोकुल अधिकारीलाई सम्मान गरेको छ।
संघले हेटौंडामा आयोजना गरेको विशेष समारोहमा बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काले पुरस्कार तथा सम्मान प्रदान गरेका हुन्।

वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्ले नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट नगद ११ हजार १११ रुपैयाँसहित सम्मानित भए। तीन दशकदेखि छापा माध्यममा सक्रिय रहेका वाग्ले हाल विश्व घटना च्यानलसँग आवद्ध छन्।
त्यस्तै, रंग संयोजक रेनिस फागो स्व. धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान २०८२ बाट नगदसहित सम्मानित भए। मकवानपुरमै जन्मिएर चलचित्र, कला, साहित्य र संगीत क्षेत्रमा सक्रिय फागोले २०० भन्दा बढी चलचित्रमा रंग संयोजन गरेका छन्। उनको उल्लेखनीय चलचित्रहरूमा प्रेम गीत सिरिज, काली, सेतो बाघ, १२ गाउँ, पिताम्बर र नरसिंहा अवतार रहेका छन्।

चलचित्र पत्रकारिता पुरस्कार २०८२ रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीलाई प्रदान गरियो। दुई दशकदेखि रेडियो पत्रकारितामा सक्रिय अधिकारी मकवानपुरका स्थापित सञ्चारकर्मी हुन्।
कार्यक्रममा बोक्सीको घर चलचित्रमार्फत चर्चामा आएकी बाल कलाकार शुपला सापकोटालाई अभिनय क्षेत्रमा अझ सफलता मिलोस् भन्ने उद्देश्यसहित प्रशंसा पत्र प्रदान गरिएको थियो।
चलचित्र पत्रकार संघ नेपालको स्थापना वि.सं. २०५६ साल जेठ ७ गते भएकाले संघले हरेक वर्ष यही दिन चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय पूर्व अध्यक्ष शान्तिप्रिय, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, पूर्व अध्यक्ष राममणि दाहाल, हेटौंडा उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष विष्णु दाहाललगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संघका अध्यक्ष कपिल खड्काले अध्यक्षता गरेका थिए।








