हेटौंडा/मकवानपुरको हेटौंडा–१८ स्थित गुम्बाडाँडा (मूर्ति बगैंचा) मा पर्यटकहरूलाई थप आकर्षण दिने उद्देश्यले ‘चियाभट्टी’ सञ्चालनमा आएको छ।
स्थानीय युवा सृजन बास्तोलाले स्वरोजगार र आत्मनिर्भरताको प्रेरणा बोकेर आफ्नै ठाउँमा चियाभट्टी सुरु गरेका हुन्। हालै सञ्चालनमा आएको यो चियाभट्टीले गुम्बाडाँडाको प्राकृतिक सौन्दर्यमा रमाउँदै स्वादिष्ट चिया र खाजाको अनुभव लिन चाहने आगन्तुकहरूलाई लक्षित गरेको छ।
“यहाँ आउने हरेक पाहुनाले घरजस्तो आत्मीयता अनुभूति गर्नुहोस् भन्ने मेरो चाहना हो,” उद्यमी बास्तोलाले बताए।
चियाभट्टीमा विभिन्न स्वादका चिया, स्थानीय परिकारसहितका खाजा तथा नास्ताहरू उपलब्ध छन्। बास्तोलाका अनुसार घरेलु स्वाद झल्काउने परिकारले विशेषगरी पर्यटकहरूको मन जित्ने अपेक्षा गरिएको छ।
साथै, चियाभट्टीले जन्मदिन, वार्षिकोत्सव, मेहेन्दी लगायत विशेष अवसरहरूका लागि पाटी आयोजना गर्न मिल्ने व्यवस्था, मिनी क्याटरिङ र फायर क्याम्पिङको सुविधा पनि प्रदान गर्दै आएको छ। विशेष गरी साँझको समय प्राकृतिक वातावरणमा रमाउन चाहने पर्यटकहरूका लागि फायर क्याम्पिङ लोकप्रिय बन्ने विश्वास गरिएको छ।
व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि महत्व दिइएको छ। चियाभट्टीमा राखिएको डोनेसन बक्समा संकलित रकमबाट स्थानीय सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने योजना रहेको बास्तोलाले जानकारी दिए।
आगन्तुकहरूको मनोरञ्जनका लागि चियाभट्टी परिसरमा पिङ र फोटो बुथको पनि व्यवस्था गरिएको छ। प्राकृतिक पृष्ठभूमिमा फोटो खिच्न चाहनेका लागि फोटो बुथ विशेष आकर्षण बनेको छ।
गुणस्तरीय सेवा सहुलियत मूल्यमा उपलब्ध गराउने लक्ष्यसहित सञ्चालनमा आएको चियाभट्टीले नियमित ग्राहकहरूका लागि विशेष अफर पनि ल्याएको छ। २०० रुपैयाँभन्दा बढीको खाजा पाँच पटक लिने ग्राहकलाई एक प्लेट मःम निःशुल्क प्रदान गरिनेछ।
गुम्बाडाँडाको शान्त वातावरण, हरियाली दृश्य र स्वादिष्ट परिकारहरूको संयोजनले यो क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकहरूको लोकप्रिय गन्तव्य बनाउने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरूले बास्तोलाको यो प्रयास अन्य युवा उद्यमीहरूका लागि पनि प्रेरणाको स्रोत बन्न सक्ने विश्वास व्यक्त गरेका छन्।




