हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरूले जिल्ला प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्काविरुद्ध आन्दोलन सुरु गरेका छन्। वडा अध्यक्ष सविन न्यौपानेमाथि भएको आक्रमणमा संलग्नलाई प्रहरीले अझै पक्राउ नगरेको भन्दै उनीहरूले आइतबारदेखि जिल्ला प्रशासन कार्यालय अगाडि टेबल राखेर सेवा प्रवाह गर्दै विरोध प्रदर्शन थालेका हुन्।

वडा १ का अध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि असार ४ गते दिउँसो वडामा सेवा दिइरहेका बेला आक्रमण भएको थियो। घटनाको एक महिना बितिसक्दा पनि अनुसन्धानमा कुनै ठोस प्रगति नदेखिएको भन्दै वडाध्यक्षहरू आक्रोशित बनेका हुन्।
वडा १६ का अध्यक्ष रामकृष्ण कोइरालाले भने, “सबै कुरा थाहा हुँदाहुँदै पनि दोषी पक्राउ नगर्नु लाचारीपनको पराकाष्ठा हो। जनप्रतिनिधि नै असुरक्षित छन् भने सर्वसाधारणको सुरक्षाबारे के कुरा गर्नु?”
उपमेयर राजेश बानियाको नेतृत्वमा सुरु भएको आन्दोलनमा १ देखि १९ वडासम्मका अध्यक्षहरू सहभागी छन्। उनीहरूले पहिलो चरणमा दुई दिनसम्म प्रशासन कार्यालय अगाडि सेवा प्रवाह गर्ने र त्यसपछि थप आन्दोलनको घोषणा गर्ने जनाएका छन्।
यसबीच जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विश्व खड्काले भने, “यो एक जना वडा अध्यक्षको मात्रै नभई, सम्पूर्ण जिल्लाको सुरक्षाको विषय हो। हामी अनुसन्धानमा लागिरहेका छौं, अन्य संलग्न व्यक्तिहरूको समेत खोजी भइरहेको छ।”
तर, जनप्रतिनिधिहरूको आरोप छ— प्रहरीले आक्रमणकारी समात्न खोजेकै छैन। उनीहरूको शंका छ कि प्रहरी प्रशासन आक्रमणकारीसँग मिलेको हुन सक्छ।
यसअघि पनि हेटौंडाको मध्य बजारमा व्यवसायीमाथि दिउँसै भएको कुटपिटको घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै व्यवसायीहरू आन्दोलित भएका थिए। यो सन्दर्भ जोड्दै जनप्रतिनिधिहरूले अहिलेको सुरक्षा अवस्था गम्भीर रूपमै खस्किएको टिप्पणी गरेका छन्।
वडाध्यक्षहरूको आन्दोलनले सेवाग्राहीहरूलाई पनि असर गरेको छ। टाढाबाट आएका सेवाग्राहीहरू प्रशासन कार्यालय अगाडि टेबल राखेर दिइएको सेवा पाउँदा सहज महसुस नगरेको बताउँछन्।
हेटौंडा–३ का बासिन्दा सविन घलान भन्छन्, “सरकारका जिम्मेवार जनप्रतिनिधिहरू नै आन्दोलनमा उत्रनुपर्ने अवस्था आएको छ। यस्तो दृश्य देख्दा हामी नागरिक चकित छौं।”

जनप्रतिनिधिहरूले प्रहरी र प्रशासनबाट न्याय नपाइने ठहर गर्दै वार्तामा नबस्ने निर्णय समेत लिएका छन्। उनीहरूले आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्।









