हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विजयादशमी–२०८२ को अवसरमा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देशमार्फत मुख्यमन्त्री बानियाँले विजयादशमी, दीपावली, नेपाल संवत, छठलगायत पर्वहरूले नेपाली समाजलाई एकता र सांस्कृतिक विविधतामा बाँध्ने सेतुको काम गर्दै आएको बताउनुभयो। उहाँले यी पर्वहरूले आपसी सद्भाव, सामाजिक सहकार्य, सांस्कृतिक संरक्षण र राष्ट्रिय एकतालाई अझ सबल बनाउने विश्वास व्यक्त गर्नुभयो।
मुख्यमन्त्री बानियाँले नेपालको सामाजिक, सांस्कृतिक र धार्मिक विविधता हाम्रो पहिचानको आधार भएको उल्लेख गर्दै राजनीतिक स्थायित्व, सुशासन र न्यायसंगत समाज निर्माणमा सबैको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले चाडपर्वहरूलाई समाजमा सकारात्मक सोच, आपसी भाईचारा र मिलनभाव बढाउने अवसरका रूपमा लिन आग्रह गर्नुभयो।
विजयादशमीलाई आपसी सद्भाव, भाइचाराको सम्बन्ध विस्तार र राष्ट्रिय एकता सुदृढ गर्ने अवसरका रूपमा मनाउनुपर्ने मुख्यमन्त्री बानियाँले बताउनुभयो। साथै उहाँले दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि मंगलकामना गर्नुभएको छ।





