संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको छ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको कार्यालय परिसरभित्र स्थापना गरिएको उक्त प्रयोगशालाको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाले पुस २८ गते उद्घाटन गर्नुभयो। प्रयोगशालाले पानीको गुणस्तर परीक्षणलाई वैज्ञानिक, विश्वसनीय तथा राष्ट्रिय मापदण्डअनुसार बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
नयाँ प्रयोगशाला सञ्चालनमा आएसँगै सेवा मकवानपुर जिल्लामा मात्र सीमित नरही छिमेकी जिल्लाका उपभोक्ताहरूले समेत सहज रूपमा पानी परीक्षण सेवा लिन सक्नेछन्। विशेष गरी बागमती प्रदेश र मधेस प्रदेशलगायत विभिन्न जिल्लाबाट ल्याइने पानीका नमूनाहरूको परीक्षण यहाँ गर्न सकिने व्यवस्था मिलाइएको छ।
प्रयोगशालाका लागि करिब ३० लाख रुपैयाँ लागत अनुमान गरी टेन्डर आह्वान गरिएकोमा काठमाडौँस्थित जेएचएस एनालिटिक कम्पनीले २२ लाख रुपैयाँमा उपकरण आपूर्ति तथा जडानको जिम्मा लिएको थियो। कम्पनीले चार महिनाभित्र आवश्यक सबै उपकरण जडान गरिसकेको जनाएको छ।
प्रारम्भिक चरणमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड–२०७९ तथा सोही मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका–२०७९ अनुसार तोकिएका २८ वटै भौतिक, रासायनिक तथा सूक्ष्म जैविक परीक्षण गरिने बोर्डले जनाएको छ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अनुसार यसअघि २०७५ सालदेखि सामान्य उपकरणमार्फत पानी परीक्षण हुँदै आएको थियो। बोर्डका लेखा प्रमुख सञ्जय कुमार न्यौपानेले आधुनिक उपकरणको प्रयोगले परीक्षण नतिजा अझ विश्वसनीय र मापदण्डअनुसार हुने बताउनुभयो।








