हेटौँडा/हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक विकास समितिले यस वर्षको सहिद दिवस–२०८२ सप्ताहव्यापी रूपमा विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको छ ।
समितिको मंगलबार बसेको बैठकले शहीदहरूको स्मृतिमा माघ १० गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले पत्रकार भेटघाट, सरसफाइ, रक्तदान, श्रद्धाञ्जली, वक्तृत्वकला प्रतियोगिता तथा सम्मान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको समितिका सचिव रघुनाथ खुललले जानकारी दिनुभयो ।
कार्यक्रम तालिकाअनुसार माघ १० गते पत्रकार भेटघाट तथा शहीद सप्ताहका कार्यक्रम सार्वजनिक गरिनेछ । माघ ११ गते बिहान ७ बजे सहिद स्मारक परिसरमा सरसफाइ कार्यक्रम तथा दिउँसो २ बजे शहीद स्मारक र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ ।
माघ १२ गते बिहान ७ बजे समितिको १६औँ परिषद् बैठक (वार्षिक साधारण सभा) आयोजना गरिनेछ भने माघ १३ गते बिहान ७ बजे नेपाल रेडक्रस उपशाखा हेटौँडाको समन्वयमा रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ ।
त्यसैगरी माघ १४ गते बिहान ७ः३० बजे हेटौँडा–१२ स्थित प्रथम शहीद लखन थापा वाटिकामा श्रद्धाञ्जली कार्यक्रम हुनेछ । माघ १५ गते दिउँसो ११ बजे “शहीदको सपना र नवयुवाको कर्तव्य” विषयक माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ ।
शहीद सप्ताहको समापन माघ १६ गते बिहान ७ बजे बागमती प्रदेश सरकारको समन्वयमा शहीदप्रति सलामी, माल्यार्पण, पुष्पाञ्जली, सभा तथा श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण कार्यक्रमसहित गरिने सचिव खुललले बताउनुभयो ।








