मुम्बई । दक्षिण भारतीय अभिनेता यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिक : अ फेयरीटेल फर ग्रोन-अप्स’ को प्रदर्शन मिति स्थगित भएको छ । यसको प्रदर्शन मिति सारेर आउँदो जुनमा पुर्याइएको छ ।
यो फिल्म १९ मार्चदेखि विश्वब्यापी प्रदर्शन तयारीमा थियो । अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणपछि मध्यपूर्व क्षेत्रमा बढेको तनावका कारण फिल्मको प्रदर्शन मिति परिवर्तन गरिएको जनाइएको छ ।अभिनेता तथा निर्माता यशले बुधबार निर्माण टिमको वक्तव्य सार्वजनिक गर्दै फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेका छन् ।
उनी अघि लेख्छन्, ‘वर्षौंको मेहनतपछि हामी मार्च १९ मा यो फिल्म तपाईंहरूसामु ल्याउन उत्साहित थियौं । तर अहिलेको अनिश्चित अवस्था, विशेषगरी मध्यपूर्व क्षेत्रमा देखिएको तनावले, सम्भव भएसम्म धेरै दर्शकसम्म पुग्ने हाम्रो उद्देश्यलाई असर गर्ने परिस्थिति सिर्जना गरेको छ ।’
वक्तव्यमा भनिएको छ, ‘टक्सिक : अ फेयरीटेल फर ग्रोन-अप्स’ हामीले विश्वव्यापी दर्शकलाई ध्यानमा राखेर परिकल्पना गरेको फिल्म हो । कन्नड र अंग्रेजी भाषामा छायांकन गरिएको यो फिल्म देशभित्रका मात्र होइन, विश्वभरका दर्शकसँग जोडिने विश्वासका साथ निर्माण गरिएको हो ।’
वक्तव्यमा थप भनिएको छ, ‘मध्यपूर्व क्षेत्रको अवस्था त्यसबेलासम्म सामान्य हुने अपेक्षासहित फिल्मको प्रदर्शन जुनसम्म सार्ने निर्णय गरिएको हो ।’ यो फिल्म अब ४ जुन, २०२६ (आगामी २१ जेठ, २०८३) मा प्रदर्शन हुने जनाइएको छ ।
‘त्यसैले हाम्रा साझेदार र दर्शकको हितलाई ध्यानमा राख्दै हामीले कठिन भए पनि सोचविचार गरेर प्रदर्शन मिति सार्ने निर्णय गरेका छौँ । तपाईंहरूको बुझाइ र धैर्यका लागि धन्यवाद दिन चाहन्छौँ, र आगामी दिनमा पनि तपाईंहरूको माया र समर्थन रहने आशा गरेका छौँ’ विज्ञप्तिमा भनिएको छ ।
‘टक्सिक’ को प्रदर्शन मिति सारिएसँगै रणवीर सिंह अभिनित ‘धुरन्धर २’ का लागि भने यो राम्रो खबर बनेको छ । यो फिल्म मार्च १९ मा रिलिज हुँदैछ र पहिले यशको फिल्मसँग भिड्ने अवस्था थियो ।
अब ‘टक्सिक’ पछि सरेपछि निर्देशक आदित्य धरको यो जासुसी थ्रिलर फिल्म सोही मितिमा एकल रूपमा प्रदर्शन हुने सम्भावना प्रबल रुपमा बढेको छ ।








