हेटौंडाको टिसिएन चौरमा सञ्चालन भइरहेको खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत जारी जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
सोमबार सम्पन्न क्वाटरफाइनल खेलहरूबाट जित हात पार्दै चार टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। सेमिफाइनलमा थाहा नगरपालिकाको मंगलेश्वर युवा क्लब, बज्रबाराहीको नवप्रतिभा क्लब, मनहरी गाउँपालिका र हेटौंडा–११ को छहारी युवा क्लब प्रवेश गरेका छन्।
क्वाटरफाइनलमा मंगलेश्वर युवा क्लबले मिलन युवा क्लबलाई २५–२० र २५–१४ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। दोस्रो खेलमा नवप्रतिभा क्लबले बागमती गाउँपालिकालाई २५–१९ र २५–१८ को सोझो सेटमा हरायो।
यसैगरी, मनहरी गाउँपालिकाले सफल केयर हेटौंडा–१५ लाई २५–१२ र २५–२२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो। अन्तिम क्वाटरफाइनलमा छहारी युवा क्लब हेटौंडा–११ ले पशुपति युवा क्लब हेटौंडा–९ लाई २५–१४ र २५–१८ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनायो।
फाइनल प्रवेशका लागि सेमिफाइनलमा मंगलेश्वर युवा क्लब र नवप्रतिभा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने मनहरी गाउँपालिका र छहारी युवा क्लब आमनेसामने हुनेछन्। आयोजकका अनुसार सेमिफाइनल खेल मंगलबार बिहान हुनेछ भने फाइनल खेल दिउँसो १ बजेबाट सुरु गरिनेछ।
प्रतियोगिताको विजेता टोलीले १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान १५–१५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।







