हेटौंडा/ मकवानपुर उद्योग वाणिज्य संघको ५९औं वार्षिक साधारण सभा आगामी चैत २१ गते शनिबार आयोजना हुने भएको छ। संघको फागुन १५ गते बसेको कार्यसमिति बैठकले हेटौंडास्थित पल्पसा हलमा साधारण सभा गर्ने निर्णय गरेको हो।
संघका अध्यक्ष प्रमोद सिंह रानाभाटका अनुसार साधारण सभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा हुनेछ। कार्यक्रममा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी रहने जनाइएको छ।
महासचिव प्रतिमा श्रेष्ठले साधारण सभामा संघको विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको जानकारी दिएकी छन्।
यसैबीच, मकवानपुर उद्योग वाणिज्य संघ कृषि प्रवर्द्धन समितिको आयोजनामा बागमती प्रदेश स्तरीय कृषि प्रदर्शनी २०८२ पनि हुने भएको छ। समितिका संयोजक निलम पाण्डेका अनुसार प्रदर्शनीमा प्रदेशभरका किसानले उत्पादन गरेका कृषि परिकार, रैथाने बाली, कृषि औजार, उपकरण तथा प्रविधिहरू प्रदर्शन गरिनेछ।
उक्त कृषि प्रदर्शनी चैत १३ गतेदेखि १६ गतेसम्म हेटौंडास्थित पल्पसा हलमा आयोजना हुनेछ।








