फिफा सिरिज २०२६ खेल्ने तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोली विवादका कारण सहभागी नहुने भएको छ।
राष्ट्रिय खेलकुद परिषदले आफ्नो निर्देशनविपरित निर्वाचन गर्न लागेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाका लागि निलम्बन गरेको थियो।
जसको असर नेपाली महिला फुटबल टोलीलाई परेको छ। एन्फा स्रोतका अनुसार विभागीय टोली आर्मी, पुलिस र एपिएफले सरकारी निलम्बनपछि साधारण सभा र प्रशिक्षणमा खेलाडी नपाठाउने निर्णय गरेको थियो।
महिला टोलीमा अधिकांस खेलाडी विभागका भएका कारण एन्फाले प्रशिक्षण मात्र स्थगित गरेन सिरिजबाट समेत नाम फिर्ता लियो।
त्यसअघि फिफा सिरिज २०२६ का लागि नेपाली महिला राष्ट्रिय प्रारम्भिक टोली घोषणा गर्दा ३२ खेलाडी रहेका थिए।
सिरिजमा नेपालले पहिलो खेल कंगोसँग खेल्ने तय भएको थियो। अब नेपालको स्थानमा इन्डोनेसियाले खेल्ने भएको छ।
सिरिजका खेल अप्रिल १२ देखि थाइल्यान्डमा हुने तय छ। अब नेपालले भाग नलिने भएपछि कंगो, इन्डोनेसिया, थाइल्यान्ड र ओशिनियाको टोलीबीच खेल हुनेछ।








