हेटौँडामा नसर्ने रोग (NCDs) न्यूनीकरण र शारीरिक गतिविधि प्रवर्द्धन सम्बन्धी एक कार्यक्रम भएको छ। आज र भोलि दुई दिनचल्ने उक्त कार्यक्रममा आज मनहरी गाउँपालिका राक्सिराङ, कैलाश र हेटौडा उपमहानगरपालिकाका शिक्षा स्वास्थ्य खेलकुदका प्रमुखहरू,स्कुल नर्स र क्लबका सहभागीहरू रहेका थिए।

“कम्युनिटी स्पोर्ट एण्ड हेल्थ कोअपरेशन इनिसिएटिभ” अन्तर्गत आयोजित उक्त कार्यक्रममा दैनिक कम्तीमा ६० मिनेट खेलकुदले नसर्ने रोगको जोखिम घटाउने विषयमा जोड दिइएको थियो।
कार्यक्रममा PATH का सिनियर प्रोग्राम अफिसर सञ्जु गौतमले नेपालका मकवानपुर, नुवाकोट, चितवन र ललितपुरमा स्वास्थ्य शिक्षा र खेलकुदलाई जोडेर कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार नसर्ने रोगका कारण मृत्युदर बढ्दो छ, विशेषगरी युवामा यसको प्रभाव गम्भीर बन्दै गएको छ कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
हेल्थ कन्सर्नका प्रोग्राम म्यानेजर राजेन्द्र थापाले वर्तमान अवस्था चिन्ताजनक रहेको बताउँदै स्वस्थ जीवनशैली अपनाउन आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले सहभागीहरूलाई केही कार्य प्रस्तुतिहरू सहितको छलफल गराउनुभएको थियो। नेपाल ओलम्पिक कमिटीका रामकृष्ण श्रेष्ठले नियमित व्यायाम मानव स्वास्थ्यका लागि अत्यावश्यक रहेको उल्लेख गर्दै यसलाई पाठ्यक्रममै समावेश गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। 
कार्यक्रममा करिब १५० अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी तथा क्लबका सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सामुदायिक स्वास्थ्य र खेलकुदलाई एकीकृत रूपमा अघि बढाउने विषयमा छलफल गरेका थिए।
हेटौँडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख डा. भीमप्रसाद तिमल्सिनाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा आगामी योजना तथा सहकार्यका विषयमा पनि छलफल गरिएको थियो। आगामी दिनमा हेटौडा उपमहानगरपालिकाबाट हुने नीति तथा योजनामा यस्ता कार्यक्रमहरूलाई पनि समावेश गर्ने प्रतिबद्धता गर्नुभएको छ। 







