हेटौंडा/बागमती प्रदेशमा सञ्चालन रहेको सुरक्षित आप्रवासन कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रदेशस्तरीय समन्वय बैठक सम्पन्न भएको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा मन्त्री जयराम थापाको अध्यक्षतामा बैठक बसेको हो।
बैठकमा चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित गतिविधि तथा उपलब्धिहरूको समीक्षा गर्दै कार्यक्रम कार्यान्वयनलाई अझ सुदृढ बनाउने विषयमा विभिन्न रणनीतिक निर्णयहरू गरिएको मन्त्रालयले जनाएको छ।
कार्यक्रमअन्तर्गत विगतका निर्णयहरूको कार्यान्वयन अवस्थाको मूल्याङ्कन गर्दै आवश्यक सुधारका लागि निर्देशन दिइएको छ। साथै, कार्यक्रम समन्वय तथा कार्यान्वयन एकाइबाट भएका निर्णयहरूलाई औपचारिक रूपमा अनुमोदन गरिएको छ।
कार्यक्रमको दीगोपना सुनिश्चित गर्न स्थानीय तहमा दिइँदै आएको प्राविधिक सहयोगलाई क्रमशः घटाउँदै लैजाने तथा प्रदेश सुशासन केन्द्रसँग सहकार्य गरी क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले सुरक्षित आप्रवासन कार्यक्रमलाई थप परिणाममुखी र दिगो बनाउनुपर्नेमा जोड दिए। उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
उनका अनुसार कार्यक्रममार्फत श्रमिकहरूलाई सही सूचना, सीप र मनोसामाजिक सहयोग प्रदान हुँदै आएको छ, जसलाई स्थानीय तहसम्म संस्थागत रूपमा विस्तार गर्न आवश्यक रहेको छ।
बैठकमा स्वास्थ्य निर्देशनालय र स्वास्थ्य तालिम केन्द्रले मनोसामाजिक सेवा प्रवाह सम्बन्धी प्रगति विवरण प्रस्तुत गरेका थिए भने त्यसपछि सहभागीहरूबीच विस्तृत छलफल भएको थियो।
बैठकले सुरक्षित आप्रवासन कार्यक्रमलाई संस्थागत रूपमा मजबुत बनाउन आवश्यक कार्यविधि तयार गर्ने तथा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन सम्बन्धी सिफारिस गर्ने निर्णय पनि गरेको छ।
कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधि, स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।







