बागमती प्रदेशमा जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी भवनहरूको पुनर्निर्माण सम्पन्न भएको छ । जेनजी आन्दोलनका कारण १ अर्ब रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको बागमती प्रदेश सरकार पुरानै लयमा फर्किन थालेको हो। आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त बनेका प्रदेशका सरकारी संरचनाहरूको पुनर्निर्माण कार्य सम्पन्न भएसँगै सरकार पुरानो लयमा फर्किन थालेको छ।
पुनर्निर्माणपछि पाँच मन्त्रालय रहेको हेटौंडा–१ स्थित भवन सोमबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका छन्। आन्दोलनका बेला क्षति पुगेका विभिन्न मन्त्रालयका भवन मर्मत गरी पुरानै अवस्थामा ल्याइएको र मन्त्रालयहरूले छिट्टै सोही भवनबाट सेवा सुरु गर्ने जनाइएको छ।
भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सातै प्रदेशमध्ये बागमती प्रदेशले सबैभन्दा पहिले क्षतिग्रस्त भवनहरूको पुनर्निर्माण सकेको बताए। क्षतिको व्यवस्थापनपछि मन्त्रालयहरू पुरानै अवस्थामा काम गर्ने गरी भवन सार्ने क्रममा रहेको उनले जानकारी दिए । आन्दोलनका क्रममा भौतिक संरचनामा ठुलो क्षति पुगेपछि लामो समयदेखि कामचलाउ र अप्ठ्यारो परिस्थितिमा सेवा प्रवाह भइरहेको उनको भनाइ थियो। पुनर्निर्माण सकिएसँगै सरकारलाई कार्य सम्पादनमा सहजता आउने विश्वास उहाँले व्यक्त गरे ।भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाका अनुसार, आगजनीले संरचनात्मक रूपमा गम्भीर असर परेकाले पुल्चोक क्याम्पसका विज्ञसहितको टोलीबाट प्राविधिक अध्ययन गराई सुरक्षित पुनर्निर्माण गरिएको हो । प्रदेशका सचिव ईश्वरचन्द्र मरहठ्ठाले आन्दोलनले कुल १ अर्बभन्दा बढी क्षति पुर्याएकोमा भवनतर्फ मात्रै ८४ करोड रुपैयाँबराबरको नोक्सानी भएको खुलाए ।
सहरी विकास तथा भवन कार्यालय हेटौंडाका प्रमुख भूपेन्द्र यादवले ५ वटा मन्त्रालयका भवनसहित ५ वटा संरचना पुनर्निर्माणका लागि कुल ३ करोड ९५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको जानकारी दिए। ५ मन्त्रालय रहेको भवन पुनर्निर्माणका लागि १ करोड ८४ लाख लागत अनुमान गरिएकोमा सत्गुण कन्स्ट्रक्सनले १ करोड २८ लाखमा ठेक्का सम्झौता गरेर काम गरेको उनले बताए ।
सम्झौता भएको छोटो अवधिमै निर्माण व्यवसायीले गुणस्तरीय काम सम्पन्न गरेको उनको भनाइ छ।हालसम्म मन्त्रालय भवन, प्रमुख सचिवको आवास, सहकारी मन्त्रालय लगायतका ४ वटा भवनको काम सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने प्रदेश सचिवालयको भवन मर्मत कार्य अन्तिम चरणमा पुगेको छ।पुनर्निर्माणका क्रममा रेट्रोफिटिङका साथै प्लास्टर, पेन्टिङ, झ्याल–ढोका मर्मत र रङरोगनका कामहरू गरिएका छन्। साथै, नयाँ लिफ्ट, ट्रान्सफर्मर, एसी जडान, टायल–ग्रेनाइट बिछ्याउने कार्य समेत सम्पन्न भएको छ।







