मकवानपुरको बागमती गाउँपालिकामा आयोजना हुने आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको विस्तृत तालिका सार्वजनिक गरेको हो।
बैशाख १७ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती युथ क्लब आमनेसामने हुनेछन्। उक्त खेल बागमती–४ स्थित सहिद स्मृति रंगशालामा दिउँसो ३:३० बजे सुरु हुनेछ।
त्यसैगरी, बैशाख १८ गते त्रिभुवन आर्मी क्लब काठमाडौं र बाराको नव जनजागृति क्लबबीच प्रतिस्पर्धा हुनेछ भने १९ गते सशस्त्र प्रहरी बलको एपीएफ क्लब र काठमाडौंको चित्लाङ एफसी भिड्नेछन्। २० गते ललितपुरको चर्च ब्वाइज युनाइटेडले आयोजक र बागमती युथ क्लबबीचको विजेतासँग खेल्नेछ।
२१ गते फ्रेन्ड्स क्लब ललितपुर र प्लानिङ ब्वाइज युनाइटेडबीच खेल हुनेछ भने २२ गते मछिन्द्र क्लबले एपीएफ र चित्लाङ एफसीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका सेमिफाइनल खेलहरू बैशाख २३ र २४ गते हुनेछन् भने फाइनल खेल बैशाख २६ गते आयोजना गरिनेछ।
प्रतियोगितामा आयोजकसहित कुल १० टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरिनेछ भने विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई २५–२५ हजार रुपैयाँ दिइनेछ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
पत्रकार सम्मेलनमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, बागमती–३ का वडाध्यक्ष कमानसिं पाख्रीन, एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल तथा बागमती खेलकुद विकास समितिका उपाध्यक्ष मुक्ति लामा लगायतको उपस्थिति रहेको थियो।







