हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण नेपाली श्रमिकप्रति शुभकामना व्यक्त गर्दै श्रमिक अधिकारको संरक्षण र प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
उनले श्रमिकहरूको एकता, संघर्ष र बलिदानबाट प्राप्त ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को ऐतिहासिक उपलब्धिलाई स्मरण गर्दै यसको पूर्ण कार्यान्वयन सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। श्रमिक अधिकार केवल नारामा सीमित नभई व्यवहारमा कार्यान्वयन हुनुपर्ने उनको धारणा छ।
मुख्यमन्त्री बानियाँले श्रमिक आन्दोलनको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै Haymarket Affair लगायतका आन्दोलनहरूले विश्वभर श्रमिक अधिकार स्थापना गर्न महत्वपूर्ण योगदान दिएको बताए। उनका अनुसार श्रमिक दिवस श्रमजीवी वर्गको एकता, समर्पण र विजयको प्रतीकका रूपमा मनाइँदै आएको छ।
नेपालको सन्दर्भमा उनले श्रमिकहरूको हक–हित सुनिश्चित गर्दै सामाजिक न्याय र समृद्धि हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। बागमती प्रदेश सरकारले श्रम बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्ने, सुरक्षित तथा मर्यादित रोजगारीको वातावरण निर्माण गर्ने र वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउने नीति लिएको उनले जानकारी दिए।
स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्य बढाइने बताए। युवालाई सीपमूलक तालिम प्रदान गरी रोजगारीका अवसर विस्तार गर्ने योजना सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ।
त्यसैगरी, श्रमिकको अधिकार संरक्षण, सामाजिक सुरक्षा प्रणालीको विस्तार तथा उत्पादनशील क्षेत्रमा लगानी वृद्धि सरकारको प्रमुख एजेण्डा रहेको उनले उल्लेख गरे।
सन्देशको अन्त्यमा मुख्यमन्त्री बानियाँले विश्वभरका श्रमिकहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै श्रमको सम्मान र अधिकार सुनिश्चितताका लागि सरकार, निजी क्षेत्र र आम नागरिकबीच सहकार्य आवश्यक रहेको बताएका छन्।







