बागमती प्रदेशका मुख्यमन्त्रीले आफ्नो निवास र सम्बद्ध कार्यालयमा भएको छापामारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानूनी छानबिनमा पूर्ण सहयोग गर्ने बताएका छन्। 
आज वैशाख २१ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौँडा र काठमाडौँस्थित मुख्यमन्त्रीको घर तथा उनी संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो। उक्त घटनापछि जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्रीले आफू सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणप्रति प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा उनले प्रदेश सरकार सञ्चालनमा मितव्ययिता, खर्च कटौती र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरेका छन्। साथै, तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार आफूले सधैँ संघीय सरकारका सकारात्मक प्रयासलाई समर्थन गर्दै आएको बताएका छन्।
मुख्यमन्त्रीले आफ्नो राजनीतिक तथा व्यावसायिक जीवनमाथि हुने छानबिनलाई सकारात्मक रूपमा लिएको जनाए पनि बिना पूर्व जानकारी गरिएको छापामारीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफूलाई आवश्यक पर्दा सधैँ उपस्थित हुन तयार रहेको अवस्थामा अचानक गरिएको कारबाहीले व्यक्तिगत र सामाजिक प्रतिष्ठामा असर परेको बताएका छन्।
अन्त्यमा, उनले संवैधानिक तथा कानूनी दायराभित्र हुने सबै अनुसन्धानमा पूर्ण सहयोग रहने स्पष्ट पार्दै सर्वसाधारणलाई भ्रमित नहुन आग्रह गरेका छन्। साथै, आफू जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।







