हेटौंडामा ट्रकको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ। बुधबार राति करिब ८ बजे हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र ट्रक ठोक्किँदा प्रहरी सहायक हवलदार किरण श्रेष्ठको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००५ प १४१५ नम्बरको स्कुटरलाई पछाडिबाट आएको ना ५ ख ५२५२ नम्बरको फलाम बोकेको ट्रकले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका ३६ वर्षीय श्रेष्ठलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा राति ८ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। श्रेष्ठ नुवाकोटको तादी गाउँपालिका–६ निवासी हुन् र नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे, मकवानपुरमा कार्यरत थिए।
घटनापछि प्रहरी निरीक्षकको नेतृत्वमा ट्राफिकसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा संलग्न ट्रक, स्कुटर तथा ट्रक चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–२ निवासी २४ वर्षीय रन्जित कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ।







