समस्याग्रस्त घोषित ओरेन्टेल को–अपरेटिभ लिमिटेड का ऋणीहरूको नाम सार्वजनिक गर्ने क्रममा ऋण चुक्ता गरिसकेका व्यक्तिको समेत नाम समावेश गरिएको भन्दै आपत्ति जनाइएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय, बबरमहलले वैशाख ३१ गते बुधबार सार्वजनिक गरेको ऋणीहरूको तीन पुस्तेसहितको सूचीमा बागमती प्रदेशका स्वा्थ्यमन्त्री भक्तपुर सिपाडोलका मा.किरण थापा मगरको नाम पनि समावेश भएपछि उहाँले विरोध जनाउनुभएको हो।
थापाका अनुसार उहाँले ओरेन्टेल को–अपरेटिभ लिमिटेडसँग लिएको ऋण २०८२ साल असोजमै पूर्ण रूपमा चुक्ता गरिसक्नुभएको थियो। ऋण चुक्ता भएपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले २०८२ असोज २१ गते बैंक खाता फुकुवा गर्न परिपत्रसमेत जारी गरिसकेको अवस्थामा पुनः ऋणीको सूचीमा नाम राखेर बदनाम गर्ने प्रयास गरिएको उहाँको आरोप छ।
थापाले भन्नुभयो, “भक्तपुरमा कोल्ड स्टोर सञ्चालनका लागि एक जना सहयोगीलाई ऋण निकालिदिएको थिएँ। उनले ऋण तिरिरहेकै अवस्थामा दुर्घटनामा मृत्यु भएपछि बाँकी करिब २४ हजार रुपैयाँ मैले नै तिरेर गत वर्ष नै फुकुवा गराएको थिएँ। त्यसपछि पनि नाम सार्वजनिक गरिनु आपत्तिजनक हो।”
उहाँले समितिसँग तत्काल सूची सच्याउन र गलत विवरण हटाउन माग गर्नुभएको छ।
यस विषयमा समितिका कर्मचारीले भने ऋणीहरूको नाम सार्वजनिक गर्ने क्रममा भूलवश पुरानै सूची सार्वजनिक भएकाले ऋण चुक्ता गरिसकेका व्यक्तिको नामसमेत समावेश हुन गएको बताएका छन्।







