दुग्ध उत्पादक किसानबाट संकलित रकमलाई पुनः किसानकै हितमा लगानी गर्ने नीति अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकाले मनहरी–३ स्थित नमुना कृषक बहुमुखी सहकारी संस्था लिमिटेडलाई साढे ७ लाख रुपैयाँ बराबरको ३० केभिए क्षमताको जेनेरेटर सहयोग गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती ले सहकारीका अध्यक्ष लालबहादुर थापा लाई जेनेरेटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष अनन्त प्रकाश अर्याल लगायत दुग्ध किसानहरूको उपस्थिति रहेको थियो ।
गाउँपालिका अध्यक्ष कालाखेतीले विद्युत अवरुद्ध हुँदा किसानबाट संकलित दूध चिस्यान केन्द्रमा सुरक्षित राख्न समस्या हुने भएकाले जेनेरेटर सहयोग गरिएको बताए । उनले किसानबाट दूध बिक्रीका आधारमा संकलित रकम पुनः किसानकै हितमा खर्च गर्ने नीति अनुसार सहयोग गरिएको स्पष्ट पारे ।
मनहरी गाउँपालिकाले केही समयअघि दुग्ध किसानको भुक्तानी सुनिश्चित गर्दै सहकारीमार्फत दूध खरिद–बिक्री व्यवस्थापन सुरु गरेको थियो । त्यसपछि किसानबाट प्रतिलिटर ५० पैसाका दरले रकम संकलन हुँदै आएको छ । यसअघि जिल्ला सहकारी संघमार्फत दूध कारोबार हुँदा प्रतिलिटर ३ रुपैयाँसम्म कमिशन लिइने गरिएकोमा अहिले खर्च घटेर ५० पैसामा सीमित भएको गाउँपालिकाको दाबी छ ।
गाउँपालिकाले “कृषि उपज खाता” सञ्चालन गरेर दूध बिक्रीको आधारमा रकम संकलन गर्दै आएको छ । हालसम्म उक्त खातामा करिब २५ लाख रुपैयाँ संकलन भइसकेको जनाइएको छ । संकलित रकम दुग्ध किसान र सहकारीको पूर्वाधार विकासमा खर्च गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।
सहकारीमार्फत दूध संकलन तथा नियमित भुक्तानी प्रणाली सुरु भएपछि मनहरीका दुग्ध किसान उत्साहित बनेका छन् । गाउँपालिकाले उद्योगसँग समन्वय गरेर किसानलाई प्रत्येक १५ दिनमा भुक्तानी सुनिश्चित गरेपछि किसानको विश्वास बढेको बताइएको छ । पछिल्लो समय यस व्यवस्थाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई समेत पशुपालनतर्फ आकर्षित गर्न थालेको छ । हाल मनहरी क्षेत्रमा दैनिक करिब १५ हजार लिटर दूध उत्पादन हुने गरेको जनाइएको छ ।







