बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ तोकेको छ ।प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी वर्षका लागि कुल ४९ अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ (सीमा) निर्धारण गर्दै मन्त्रालयहरूलाई योजना छनोट गर्न पत्राचार गरेको छ । चालु आर्थिक वर्षमा ६७ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षमा आकार घटाउने तयारी गरेको हो ।
मन्त्रालयले चैत पहिलो सातामै बजेट सिलिङ पाउनुपर्ने आयोजना छनोट निर्देशिकाको व्यवस्था भए पनि विभिन्न प्राविधिक कारणले जेठ पहिलो सातामा सिलिङ वितरण गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार सरकारले गत साता नै सबै मन्त्रालयलाई सिलिङ पठाइएको छ । पहिलो चरणको सिलिङ गत वर्षको तुलनामा कम रहेको उनले बताए ।
सरकारले आगामी साउनदेखि मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झार्ने निर्णय गरे पनि हाल कायम रहेका १४ वटै मन्त्रालयलाई बजेट सिलिङ वितरण गरेको छ । साउनदेखि बजेट कार्यान्वयनको चरणमा जाँदा ती कार्यक्रमलाई नयाँ संरचनाअनुसार मर्जर गर्ने गरी साविककै मन्त्रालयलाई बजेटको सीमा पठाइएको आर्थिक मामिला तथा योजना मन्त्री तामाङले वताए । साउनबाट बजेट कार्यान्वयन गर्ने क्रममा बजेट र कार्यक्रम पनि मर्जर गर्नेगरी सिलिङ वितरण गरिएको उनले बताए ।









