बागमती प्रदेश सरकारले हेटौँडा–६ स्थित गौरीटार अन्तर्राष्ट्रिय रङ्गशालालाई खेलकुद, प्रशिक्षण तथा खेलाडी उत्पादनको केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाएको छ।

बुधबार गौरीटार रङ्गशालामा आयोजित तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गौरीटारलाई प्रदेश सरकारको गौरवको योजनाका रूपमा विकास गरिने बताए। उनले रङ्गशालामा सौन्दर्यीकरण, कभर्ड हल, अभ्यासस्थल, फ्लडलाइट तथा विभिन्न खेलका पूर्वाधार निर्माण गरी राष्ट्रिय, अन्तरप्रदेश र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सकिने संरचना तयार गरिने जानकारी दिए।

बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यता तथा युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न खेलकुद प्रदर्शनीसहित गायिका समीक्षा अधिकारी र गायिका प्रतिमा अर्यालको सांगीतिक प्रस्तुति रहेको थियो।

प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले गौरीटारको २३ बिघा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको स्पोर्ट्स एकेडेमीको अवधारणासहित विकास गर्ने तयारी भइरहेको बताए। उनका अनुसार मुख्यमन्त्रीको पहलमा चालु आर्थिक वर्षकै बजेटबाट गौरीटारमा सिन्थेटिक ट्र्याक र इन्डोर कभर्ड हल निर्माणका लागि बजेट सुनिश्चित भइसकेको छ।

लामाले हेटौँडामा खेल पूर्वाधार पूर्ण रूपमा तयार नभएकाले केही खेलहरू हेटौँडाबाहिर सञ्चालन गर्नुपरेको उल्लेख गरे। ट्र्याक एन्ड फिल्डका लागि आवश्यक सिन्थेटिक ट्र्याकको अभावका कारण उपलब्ध संरचनालाई सुधार गरेर प्रतियोगिता सञ्चालन गर्नुपरेको भन्दै उनले परिषद्को तर्फबाट क्षमायाचना गरे। परिषद्ले ग्रासरुट तहदेखि खेलाडी पहिचान, ई–स्पोर्ट्स लाइब्रेरी स्थापना, पूर्वाधार सम्भाव्यता अध्ययन तथा खेलाडीको डाइट र पोषण व्यवस्थापनसम्बन्धी कार्यक्रमसमेत अघि बढाएको उनले जानकारी दिए।
कार्यक्रममा मन्त्री नेपालले सक्षम राष्ट्र निर्माणका लागि योग्य खेलाडी आवश्यक रहेको बताइन्। खेलकुदले व्यक्तिलाई स्वस्थ, अनुशासित, जिम्मेवार, लगनशील तथा जित–हार स्वीकार गर्न सक्ने बनाउने उल्लेख गर्दै उनले समाज र राजनीतिमा पनि खेल भावनाको आवश्यकता रहेको धारणा व्यक्त गरिन्।
यसअघि जेठ २४ देखि ३० गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगिता आन्तरिक तयारीका कारण पछि सारिएको थियो। औपचारिक उद्घाटन बुधबार भए पनि एथलेटिक्सका खेलहरू असार १ गतेदेखि हेटौँडास्थित पिप्ले–क्याम्पा रङ्गशालामा सुरु भइसकेका छन्। प्रतियोगिताको समापन असार ९ गते हुने तय गरिएको छ।
प्रदेशका १३ वटै जिल्लाबाट खेलाडी, प्रशिक्षक, निर्णायक तथा अफिसियलको सहभागिता रहेको प्रतियोगितामा २ हजार ९ सय ५५ खेलाडी र १ हजार २ सय ६ अफिसियलसहित कुल ४ हजार १ सय ६१ जना सहभागी हुने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ। प्रतियोगिताका लागि १३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
प्रतियोगितामा १५ खेल विधा समावेश छन्। हेटौँडामा फुटबल, पुरुष क्रिकेट, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र टेबलटेनिसका खेल सञ्चालन हुनेछन्। महिला क्रिकेट र कराँतेका प्रतिस्पर्धा चितवनमा तथा भलिबल, पौडी, उसु र जुडोका खेल काठमाडौँ र ललितपुरमा आयोजना गरिनेछन्।







