बागमती प्रदेश सरकारले बाढी प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नुवाकोटमा आपत्कालीन तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट सिर्जित स्वास्थ्य संकटलाई लक्षित गर्दै नुवाकोटस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा केन्द्र स्थापना गरिएको हो।
केन्द्रको शुभारम्भ बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, पूर्वमुख्यमन्त्री बहादुरसिंह लामालगायतको उपस्थितिमा गरिएको थियो।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री पौडेलले विपद्को कठिन अवस्थामा नागरिकको जीवनरक्षा, स्वास्थ्य सुरक्षा तथा राहत–उद्धारलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए। उनले तत्कालीन स्वास्थ्य संकट व्यवस्थापनसँगै विपद्पछिको पुनःस्थापना र नागरिकको दैनिकी सहज बनाउन आवश्यक समन्वय र सेवा प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा बाढी तथा विपद्मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताको शीघ्र खोज तथा उद्धार र घाइते तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो। सो अवसरमा दीप प्रज्ज्वलनसमेत गरिएको थियो।








