हेटौँडा/क्यानोपी नेपालले हेटौँडाका पाँच विद्यालयका उत्कृष्ट कथा लेखन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीले विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेका हुन्।
हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा क्यानोपी नेपालले दुई वर्षदेखि सञ्चालन गर्दै आएको ‘कथा बुनौँ’ कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्रदान गरिएको हो। कार्यक्रमको संयोजक अन्जुला जोशीले गरेकी थिइन् भने क्षेत्रीय संयोजकका रूपमा अमिशा अधिकारी रहेकी थिइन्।
आर्थिक वर्ष २०८२/८३ मा श्रमिक माध्यमिक विद्यालय हेटौँडा–४, वंशगोपाल माध्यमिक विद्यालय हेटौँडा–६, प्रगति माध्यमिक विद्यालय हेटौँडा–९, जनज्योति माध्यमिक विद्यालय हेटौँडा–१४ र जनप्रिय माध्यमिक विद्यालय हेटौँडा–१६ मा पाँच दिने ‘कथा बुनौँ’ कार्यक्रम सञ्चालन गरिएको थियो।
प्रत्येक विद्यालयबाट उत्कृष्ट कथा लेखन गर्ने एक–एक जना विद्यार्थीलाई एनएमबी बैंकको आर्थिक सहयोगमा एक वर्षका लागि छात्रवृत्ति प्रदान गरिएको हो। छात्रवृत्तिअन्तर्गत विद्यार्थीको वार्षिक विद्यालय शुल्क, खाजा तथा शैक्षिक सामग्रीलगायतका शैक्षिक आवश्यकतामा सहयोग गरिने क्यानोपी नेपालले जनाएको छ।
क्यानोपी नेपालका अनुसार ‘कथा बुनौँ’ कार्यक्रममार्फत दुई वर्षमा हेटौँडाका विभिन्न विद्यालयका २६२ विद्यार्थीलाई कथा लेखन तथा कथनमार्फत आफ्ना विचार र अनुभव अभिव्यक्त गर्ने अवसर प्रदान गरिएको छ। कार्यक्रमले विद्यार्थीको सिर्जनात्मक तथा आलोचनात्मक सोच, आत्मअभिव्यक्ति, लेखन, प्रस्तुतीकरण र नेतृत्व सीप विकासमा समेत सहयोग पुर्याउँदै आएको छ।









