चैनपुर जेसीज मनहरीको सन् २०२६ को जेसीज सप्ताह बुधबारदेखि सुरु भएको छ। सप्ताहको पहिलो दिन मनहरी–३ हाँडीखोलास्थित महेन्द्रज्योति उच्च माध्यमिक विद्यालयमा ‘आजको तयारी, भोलिको नेतृत्व’ विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो।
शाखा अध्यक्ष सुरेश गौतमको प्रकरणमा आयोजित प्रतियोगितामा ८ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा दिपेश सिन्तान प्रथम, परिसा पौडेल द्वितीय, सृजना लामिछाने तृतीय र बिन्दु थिङ सान्त्वना भएका छन्।
कार्यक्रम कार्यक्रम संयोजक अन्जन सापकोटाको संयोजकत्व तथा शाखा अध्यक्ष गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। मनहरी–३ का वडाध्यक्ष अनन्तप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेसीजका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पूर्वअध्यक्ष रविन ढकाल, अध्यक्ष सल्लाहकार तथा मनहरी गाउँपालिकाका स्रोत शिक्षक विदुर थापालगायतले शुभकामना मन्तव्य दिएका थिए।
जेसीज सप्ताहअन्तर्गत बिहीबार मनहरी–६ बालभन्ज्याङस्थित राष्ट्रिय सरस्वती प्राथमिक विद्यालयमा स्टेशनरी सामग्री वितरण गरिनेछ। २३ गते पशुपतिनाथ माविमा खेलकुद सामग्री वितरण, २४ गते मनहरी–४ मा स्लो मोटरसाइकल रेस तथा २५ गते पशुपतिनाथ मन्दिर सरसफाइ र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिने सप्ताह मूल कार्यक्रम संयोजक राजु सुवेदीले जानकारी दिए।






