भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएका हेटौंडा उपमहानगरपालिका–५ निवासी २५ वर्षीय प्रदीप सापकोटाको ६० दिनसम्म अवस्था पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ।
परिवारका जेठा छोरा प्रदीप रोजगारीका लागि त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा काम गर्न गएका थिए। परिवारको मुख्य कमाउने सदस्य बेपत्ता भएपछि आर्थिक संकटमा परेको परिवारलाई छरछिमेकीले सहयोग गरेका छन्। वडाले पनि काजक्रिया खर्चमा सहयोग गर्ने निर्णय गरेको छ।
यसैबीच, भोटेकोशी बाढीमा बेपत्ता भएका मकवानपुरका ५८ जनाको विवरण प्रमाणीकरण प्रक्रिया अघि बढाइएको छ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले बेपत्ता व्यक्तिहरूको कानुनी अवस्था टुंग्याउन विवरण संकलन तथा प्रमाणीकरण थालेको हो।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार असोज २३ गते नेपाल राजपत्रमा प्रकाशित विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र ‘भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्ने विशेष प्रक्रिया, २०८३’ अनुसार प्रक्रिया अघि बढाइएको हो।
प्रजिअ अधिकारीले बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत विवरण यकिन गरिने बताए। परिवारको निवेदन, स्थानीय तहको प्रमाणीकरण तथा दाबीविरोधको प्रक्रिया पूरा भएपछि विवरणलाई अन्तिम रूप दिइनेछ।
प्रमाणीकरण प्रक्रियाले बाढीमा बेपत्ता भएकाहरूको कानुनी अवस्था टुंग्याउन र प्रभावित परिवारलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आधार तयार गर्न सकिने छ।






