हेटौंडा/पछिल्लो सयमा मकवानपुरमा अटिजमको समस्या बढ्दै गएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याङ मकवानपुरमा ७७ जनामा अटिजमको समस्या देखापरेको हो । अटिजम अवस्थाको पहिचान गर्न नसक्दा भने समस्या हुने गरेको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मंगलवार हेटौँडामा आयोजना गरेको अटिजम सम्बन्धि छलफलमा सहभागी सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् । मन्त्रालयको तथ्याङ्क अनुसार बागमती प्रदेशमा १ हजार २५३ जनामा अटिजमको समस्या रहेको छ । काठमाडौंमा ४९५, ललितपुरमा ८३, भक्तपुर ७८, चितवन ११३, नुवाकोटमा ६५ जनामा अटिजमको अवस्था रहेको छ । त्यस्तै सिन्धुपाल्चोकमा ५४, दोलखा ३३, सिन्धुली ६५, रामेछाप २८, काभ्रे ६५ र रसुवामा १७ जनामा अटिजमको अवस्था रहेको छ ।
कुनैपनि व्यक्तिको उमेरको विकास संगै उमेर सापेक्ष संवाद, विचार बुझ्न र भाषाकाृ प्रयोग गर्न कठिनाई, एउटै व्यवहार लगातार दोहोर्याउने, अरुसँग घुलमिल नहुने, अस्वभाविक प्रतिक्रिया देखाउने अवस्थालाई अटिजम भनिन्छ । स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख डा.खगेश्वर गेलाले प्रदेशका १३ वटै जिल्लामा अटिजम सम्बन्धि काम गर्ने संघसंस्थाको पहिचान गरेर अगाडि बढ्ने बताए । समयमै समस्याको पहिचान गरेर आवश्यक तालिम समेत प्रदान गर्ने तयारी गरेको उनले बताए ।
कार्यक्रममा डा.रामप्रसाद पोखरेलले अटिजम सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अटिजम केयर नेपालका सुरेन्द्र बज्रचार्यले जुम मार्फत अटिजम सम्बन्धि जानकारी दिर्दै सहभागिको जिज्ञासाको उत्तर दिए ।
सन् २०२३ को नयाँ तथ्याङ्क अनुसार ३६ जना बच्चाहरु मध्ये १ जनालाई अटिजम भएको तथ्याङ्क छ । भारतमा ८ करोड मानिसमा अटिजम भएको अनुमान छ । श्रीलङ्कामा २ लाख मानिसहरुलाई अटिजम भएको अनुमान गरिएको छ । नेपालमा पनि तीन लाख जनसंख्यामा कुनै न कुनै रुपमा अटिजमको समस्या रहेको उल्लेख छ।







